Blog

गर्मीले रक्तचापमा कमी

blog-detail-img

गर्मीले रक्तचापमा कमी

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Feb. 9, 2021
481
Views

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलकहाँ यो गर्मी याममा पुग्ने उच्च रक्तचापका बिरामीमध्ये करिब २० प्रतिशतमा हाल रक्तचापको औषधिको मात्रा घटाउनुपरेको छ । उच्च रक्तचापका बिरामीहरूमा गर्मीले गर्दा रक्तचापमा कमी देखिएपछि औषधिको मात्रा कम गरेर रक्तचापको अवस्था र औषधिको मात्राबीच सन्तुलन कायम गर्नुपरेको हो । ‘हाल गर्मी मौसमले गर्दा उच्च रक्तचापका बिरामीहरूमध्ये २० प्रतिशतजतिमा रक्तचापमा कमी आउँदा पूर्वप्रस्तावित औषधिको मात्रा कम गर्नुपरेको हो,’ डा. ओममूर्ति भन्छन्, ‘मौसमले समेत रक्तचापलाई प्रभावित गर्छ । अहिले गर्मीको प्रत्यक्ष असरले रक्तचाप कम हुनु स्वाभाविक हो ।’

गर्मीको ठीक उल्टो जाडो याममा उच्च रक्तचापका बिरामीमध्ये सरदर करिब ५० प्रतिशतजतिमा रक्तचापमा एक्कासि वृद्घि देखिएपछि औषधिको मात्रा बढाउनुपर्ने अनुभव उनको छ । मायो फाउन्डेसन फर मेडिकल एजेकेसन एन्ड रिसर्च, मायो क्लिनिकको तथ्यपत्रअनुसार रक्तचाप सामान्यत: जाडोमा उच्च र गर्मीमा कम हुने गर्छ । किनभने कम तापक्रमले तपाईंको रगतको नलीलाई साँगुरो बनाउँछ, जसले गर्दा तपाईंको रक्तनली भएर रगतको प्रवाह सुचारु गर्न बढी बल लगाउनुपर्छ र रक्तचापमा वृद्घि हुन्छ । मौसमको परिवर्तनले रक्तचापलाई प्रभावित पार्छ ।

तपाईंहरूले सामान्यत: सुन्नुभएको होला, उच्च रक्तचाप एउटा समस्या हो । कहिलेकाहीं कम रक्तचाप हुनुसमेत समस्याको कारण हुन सक्छ । केही व्यक्तिलाई सधैं निम्न रक्तचाप हुन्छ । उनीहरूलाई कुनै लक्षण देखिँदैन भने न्यून रक्तचाप उनीहरूका लागि सामान्य अवस्था हो । रक्तचाप १२०/८० लाई उपयुक्त मानिन्छ । अर्थात्, माथिल्लो (सिस्टोलिक) १२० र तल्लो (डायस्टोलिक) रक्तचाप ८० भन्दा मुनि हुनुपर्छ । ९०/६० वा योभन्दा कम रक्तचाप छ भने तपाईंलाई निम्न रक्तचापको समस्याले सताएको छ । केही व्यक्तिलाई निम्न रक्तचापको लक्षण एक्कासि उठ्दाताका देखिन्छ ।

निम्न रक्तचापले रिंगटा लाग्ने, बेहोसी र चरम स्थितिमा सक (झड्का) लाग्दा जस्तो देखिए मात्र समस्या ठानिन्छ । मुलुकमा निम्न रक्तचापको समस्या पुरुषको दाँजोमा महिलाहरूमा बढी देखिने गरिएको औंल्याउँदै डा.ओममूर्ति भन्छन्, ‘४५ वर्षभन्दा कमका धेरैजसो महिलामा रक्तचाप कम देखिन्छ, उनीहरूसमेत गर्मीले गर्दा रक्तचाप झन् कम भएर देखिने लक्षणसहित चिकित्सकनजिक पुग्ने गरेका छन् ।’ रक्तचाप घटेका लक्षणहरू देखिएको समय रक्तचाप नाप्दा पहिलाभन्दा निकै कम हुनु वा माथिको १०० को वरिपरि हुनुलाई रक्तचाप घटेको संकेत मान्न सकिन्छ ।

हामीलाई निम्न रक्तचाप (लो ब्लड प्रेसर) हुँदा शरीरमा रगतको दबाब कम भएको हुनाले रगत आवश्यक अंगसम्म उपयुक्त मात्रामा पुग्न सकिरहेको हुँदैन । यसो हुँदा ती अंगहरूले गर्ने काममा अवरोध उत्पन्न हुन्छ । यो स्थिति बढी समयसम्म रहे हाम्रो मुटु, मृगौला, फोक्सो, मस्तिष्क आदि अंगले आंशिक वा पूरै काम गर्न समस्या उत्पन्न हुन सक्छ ।

गर्मीमा डिहाइड्रेसनले हृदयाघात

गर्मीयाममा विभिन्न कारणले शरीरमा पानीको कमी (डिहाइड्रेसन) भए हृदयाघात हुने खतरा रहन्छ । बढी समय समम तीव्र घाममा रहनाले रक्तचापमा कमी आउन सक्छ । यो समस्या युवा र वयस्कहरूभन्दा बूढापाका, मधुमेह/मुटुरोगी, दीर्घरोगीहरूमा बढी देखिन्छ । बूढापाकाहरूको मुटु र मेटाबोलिज्ममा युवाहरू जस्तै मौसमअनुसार आफूलाई अनुकूल पार्ने क्षमता कम हुन्छ । यस्तो स्थितिमा झाडापखाला, गर्मी वा अन्य कुनै पनि कारणले शरीरमा पानीको बढी कमी भए हृदयाघात हुन सक्ने औंल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘चिकित्सकले पानी कम खान नभएकाहरूले गर्मीमा उपयुक्त मात्रामा पानी, स्वस्थकर तरल पदार्थ सेवन गर्नुपर्छ ।’

रक्तचाप घट्नुको लक्षण

– रिंगटा वा थकाइ लाग्नु

– केही बेर बसेर एक्कासि उभिँदा आँखाअगाडि अँध्यारो हुनु

– हिँड्दा गाह्रो हुनु

– बेहोस भएर लड्नु

– पसिना आउनु

– हातखुट्टा चिसो हुनु

– वाकवाकी लाग्नु

– नाडीको चाल कम हुनु

बढी ध्यान दिनुपर्ने वर्ग

– उच्च रक्तचापका एकभन्दा बढी औषधि सेवन गर्नेहरू
– मधुमेह/मुटु रोग र अन्य दीर्घरोग भएकाहरू
– झाडाबान्ता भएकाहरू
– पसिना बढी आउनेहरू
– पहिलादेखि माथिल्लो रक्तचाप १००/१२० हुनेहरू

रक्तचाप कम भए ?

– नुन वा नुनचिनी भएको पानी खाने
– बिरामीले तुरुन्त बस्ने वा पल्टिने
– बिरामीको खुट्टातल तकिया राख्ने
– यथाशीघ्र चिकित्सकको सल्लाह लिने

के हो रक्तचाप ?

शरीरमा बग्ने गरेको रगतले रक्तनलीको भित्तामा दिने दबाबलाई रक्तचाप भनिन्छ । धमनी त्यो नली हो जसले पम्प गर्ने मुटुबाट रगतलाई शरीरका सबै तन्तु (टिस्यु) र इन्द्रियसम्म लैजान्छ । मुटुले रगतलाई धमनीमा पम्प गरेर रक्तप्रवाहलाई नियमित गर्छ । यति बेला लाग्ने दबाबलाई नै रक्तचाप भनिन्छ । परम्पराअनुसार कुनै पनि व्यक्तिको रक्तचापलाई सिस्टोलिक/डायस्टोलिक रक्तचापको रूपमा अथ्र्याइन्छ । स्वस्थ व्यक्ति चिकित्सक कहाँ पुग्दा सामान्य रूपमा १२०/८० भन्दा कम रक्तचाप भएको बताउने गरिएको छ । यसलाई सामान्य रक्तचाप मानिन्छ ।

रक्तचापमा सिस्टोलिक अर्थात् माथिल्लो नम्बरले धमनीको दबाबलाई दर्साउँछ । यस्तो बेला मुटुको मांसपेशीले संकुचित भएर धमनीमा रगतलाई पम्प गर्छ । डायस्टोलिक रक्तचाप अर्थात् तल्लो संख्याले धमनीको त्यो दबाबलाई दर्साउँछ जब संकुचनपछि मुुटुका मांसपेशी शिथिल हुन्छन् । कुनै स्वस्थ व्यक्तिको सिस्टोलिक रक्तचाप पाराको १०० देखि १२० मिलिमिटरको बीचमा हुन्छ । सामान्य डायस्टोलिक रक्तचाप पाराको ६० देखि ८० मिलिमिटरको बीचमा हुन्छ ।

सावधानी 

- गर्मीयाममा दुईतीन दिनमा एक पटक रक्तचाप नाप्ने
- शरीरमा पानीको कमी हुन नदिने
- रक्तचाप कम भएको संकेत देखिए चिकित्सकको सल्लाहमा औषधिको मात्रा घटाउने
- रक्तचाप घटेमा औषधि आफै पूरै बन्द नगरी मात्रा घटाउने र सम्बद्ध चिकित्सकको परामर्श लिने
- १०० भन्दा कम रक्तचाप भएसम्म औषधिको प्रयोग नगर्ने र पटकपटक नापेर चिकित्सकको सल्लाहअनुसार पुन: मात्रा घटाएर प्रयोग गर्ने

 

https://ekantipur.com/health/2017/07/15/20170715083647.html

प्रकाशित : असार ३१, २०७४ १९:०१

Kantipur Daily