Blog

हार्ट फेल्योरको उपचार कसरी गरिन्छ र बिरामीले ध्यान दिनुपर्ने कुराहरुः

blog-detail-img
|
  April 25, 2022
1002
Views

हार्ट फेल्योरको उपचार मुख्यतः औषधिले गरिन्छ । मुटुको काममा सुधार ल्याउन विभिन्न औषधिहरुलाई योजनाबद्ध रुपले एकपछि अर्को प्रयोग गर्दै जानुपर्छ । औषधिको मात्रापनि योजना अनुसार बिरामीको अवस्था हेर्दै घटबढ गर्दै लानुपर्छ । यी औषधिहरुको साइड इफेक्ट पनि हुने भएकोले बिरामी र डाक्टर दुवैलाई उपचारको क्रममा होस् पुऱ्याउनु पर्दछ । हार्ट फेल्योरको बारेमा बढी अनुभव र रुचि भएको मुटुरोग विशेषज्ञसँग जाँच गराउनु पर्छ । सही उपचार भएमा बिरामीलाई हिंड्डुल गर्न सजिलो मात्रै नभएर, आयु पनि बढने गर्छ ।
मुटु कमजोर भएका विरामीहरुलाई Metoprolol, Enalapril, Ramipril, Losartan, Spironolactone or Eprelenone जस्ता औषधिहरु सकेसम्म प्रयोग गरेकै हुनुपर्छ । यस्ता औषधिहरु प्रयोग नभएमा मुटुको खुम्चिने (Pumping) शक्तिमा प्रगति हुँदैन । हार्ट फेल्योर र अन्य रोगको उपचारमा प्रमुख भिन्नता औषधिको मात्रा हो । हार्ट फेल्योरमा बिरामीको अवस्था राम्रो भएमा माथि उल्लेखित औषधिहरुको मात्रा बढाउँदै लानुपर्छ, तर अरु रोगमा सुधार देखिए पछि औषधिको मात्रा घटाईन्छ ।
प्रत्येक भेटमा डाक्टरले बिरामीको रक्तचाप, मुटुको चाल, फोक्सोको जाँच, तौल आदिको बारेमा जानकारी लिनुपर्छ । यी बिरामीहरुले लगभग प्रत्येक भेटमा सोडियम र पोटासियमको जाँच गर्नु अनिवार्य हुन्छ । आवश्यकता अनुसार इ.सि.जी., इको र छातीको एक्सरे को जाँच गर्नुपर्ने हुनसक्छ । चिकित्सकले बिरामीलाई जाँचेर रगतको रिपोर्ट र इ.सि.जी.को आधारमा औषधिको मात्रा थपघट गर्नसक्छ । हाम्रो जानकारीमा हार्ट फेल्योरको उपचारमा पोटासियमको (मिनेरल) ठूलो महत्त्व हुन्छ । मैले आफ्नो बिरामीलाई लगभग प्रत्येक भेटमा पोटासियम र इ.सि.जी. जाँच गराई आउने सल्लाह दिएको हुन्छु ।