Blog

लिपिड प्रोफाइल (कालेस्टेरोलको जाँच) के हो ?

blog-detail-img
|
  Feb. 26, 2021
19789
Views

Click here to download mobile App

कोलेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो ।रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ ।

रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन। हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा  1-2 पटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ ।  खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

कालेस्टेरोल जाँच
रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहा पाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ। लिपिड प्रोफाइलमा रगतमा ५वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

१. टोटल कोलेस्टेरोल :  यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन । तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

२. एलडिएल कोलेस्टेरोल :  एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १००-१३० भन्दा कम हुनुपर्छ र १३०-१६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ । तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

३. एचडिएल कोलेस्टेरोल : एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ। यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

४. भिएलडिएल कोलेस्टेरोल : यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

५. ट्राइग्लीसराइड : ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एलडिएल भन्दा कम महत्व दिइन्छ । ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

हाइ कोलेस्टेरोल नियन्त्रण गर्ने ६ उपाय
१. चिल्लो खाना कम खाने
२. फलफुल र सागसब्जि बढी खाने
३. नियमित शारीरिक व्यायाम गर्ने
४. तौल घटाउने
५. चुरोट र मदिरा छाड्ने
६. डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने