Dr. Om Murti Anil, Senior Cardiologist
Click here to download mobile App
कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा पुग्छ । रगतमा (LDL) नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने सम्भावना हुन्छ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ ।
जसमा कोलेस्ट्रोल जती बढि हुन्छ र जती बढि समयको लागि उच्च हुन्छ, रक्तनली साघुँरो हुने (ब्लकेज) सम्भावना त्यति नै बढि हुन्छ । थाहै नभैकन पनि, बाहिरबाट स्वस्थ देखिने युवाहरुमा पनि उच्च कोलेस्ट्रोलले रक्तनलीलाई साघुँरो गरेको अवस्था हुनसक्छ ।
मुटु र मस्तिष्कलाई रक्तप्रभाव गर्ने कोरोनरी र सेरेब्रल आर्टरीमा कोलेस्ट्रोल जम्मा भएर अचानक हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु उच्च कोलेस्ट्रोलको पहिलो लक्षण हुनसक्छ ।
युवाहरुमा देखिने हृदयघातको प्रमुख कारण नै उच्च कोलेस्ट्रोल हो । युवाहरुमा उच्च कोलेस्ट्रोल-ट्राइग्लीसेराइड छ भने यसको कुनै पनि लक्षण नहुन सक्छ । यसले गर्दा स्वस्थ व्यक्तिमा पनि अचानक समस्या उत्पन्न हुनसक्छ । त्यसैले २० वर्षभन्दा बढी उमेर समुहका मानिसहरुले समयमै आफ्नो रगत परिक्षण गरी कोलेस्ट्रोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ ।
कोलेस्ट्रोलको जाँच
रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । यसकोलागि ८ देखि १२ घण्टाको खाली पेट हुनु जरुरी हुन्छ । रगतमा एल.डि.एल.को मात्रा १०० मिलीग्राम प्रतिशत भन्दा कम हुनुपर्छ । त्यसैगरी ट्राइग्लीसेराइड १५० मिली भन्दा कम हुनुपर्छ ।
औषधि कस्तो अवस्थामा सुरु गर्ने ?
औषधि सुरु गर्ने-नगर्ने योजना धेरै कुरामा निर्भर हुन्छ । कोलेस्ट्रोलको स्तर मात्रले सधै औषधि लिने निर्णय गरिदैन । कोलेस्ट्रोलको स्तर सँगसँगै मुटुरोग, मस्तिष्क रोग तथा अन्य यस्ता रोग लाग्ने संभावनामा पनि निर्भर रहन्छ ।
डा. ओम मूर्ति अनिलका भिडियो र लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस ।
मधुमेह, उच्च रक्तचाप, मोटोपना, ध्रुमपान तथा मदिरा सेवन, वंशाणुगत, मुटुरोग आदि छ भने त्यस्ता विरामीमा कोलेस्ट्रोलको मात्रा हेरेर प्रायः औषधि दिने निर्णय गर्नुपर्ने हुन्छ । यसको निर्णय चिकित्सकले नै गर्नेगर्छ । किनभने यसले हृदयघात र मस्तिष्कघातबाट बचाउँने प्रशस्त प्रमाण भेटिएको छ ।
त्यसैले अलि बढी कोलेस्ट्रोल भएमा पनि औषधि दिनुपर्छ भन्ने मेडिकल साइन्सले देखाएको छ । उच्च कोलेस्ट्रोल देखियो भने सुरुमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने र जीवनशैली आहार बिहारमा परिवर्तन गरेर कोलेस्ट्रोलबाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ ।
कोलेस्ट्रोलको औषधि चिकित्सकको सल्लाहमा नियमित रुपमा लामो समय सम्म सेवन गर्नुपर्ने हुन्छ । आफ्नो इच्छा अनुसार खाने र छोड्ने गर्नु हुदैन । यसले गर्दा कोलेस्ट्रोलको मात्रामा घटबढ भई झन खतरा हुनसक्छ ।
उपचार प्रक्रिया
कोलेस्ट्रोल नियन्त्रण राख्ने प्रमुख उपाय खानपीनको सन्तुलन नै हो । कोलेस्ट्रोल नियन्त्रण गर्ने औषधिले हृदयघात र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ । कोलेस्ट्रोलको स्तरलाई घटाउँन र सामान्य अवस्थामा ल्याउन औषधिको प्रयोग गर्नुपर्छ ।
पछि गएर आफ्नो जीवनशैलीमा परिवर्तन गरेर खानपीनमा सुधार ल्याएर औषधिको मात्रा घटाउँने र बन्द गर्न पनि मिल्छ । तर मधुमेह, हृदयघातका विरामीले औषधि नियमित रुपमा सेवन दिनुपर्छ । यस्ता बिरामीले कहिलेकाहीँ सामान्य स्तरको कोलेस्ट्रोलमा पनि औषधि खानु पर्ने हुनसक्छ । मदिरा सेवनले पनि ट्राइग्लीसेराइड बढाउँन सक्छ ।
थोरै मदिरा सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने मान्यता छ, तर यो पूर्ण सत्य होइन । वियरले ट्राइग्लीसेराइड बढाउने काम गर्छ । थोरै मात्रामा वाइनको सेवनले राम्रो कोलेस्ट्रोल बढाउँन सक्छ । तर, मुटुलाई राम्रो गर्छ भन्ने सोचले मदिरा सेवन गर्नु बैज्ञानिक रुपले गलत सावित भएको छ ।
उच्च कोलेस्ट्रोल भएमा तौल घटाउन जरुरी हुन्छ । यसका लागि दिनहुँ हिड्ने, व्यायाम गर्ने, खानपीनमा ध्यानदिने गर्नुपर्छ । हिडाइले नराम्रो कोलेस्ट्रोलको स्तर घट्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइड भएका व्यक्तिमा प्राणघातक रोगको खतरा भएकोले यसको स्तरलाई सक्दो चाडो नियन्त्रणमा लिनु जरुरी हुन्छ ।
शुरुमा चिकित्सकको सल्लाह अनुसार औषधि खाएर पछि खानपीन र जीवनशैलीमा सुधार ल्याएर सधैको लागि विना औषधि नियन्त्रण गर्न सकिन्छ । यसको लक्षण नुहने भएकाले समयमै लिपिड प्रोफाइल जाँच गर्नु जरुरी हुन्छ ।