Dr Binod Khadka, National Cardiac Centre, Basundhara
Click here to download mobile App
किन बढ्छ ढुकढुकी ?
२४ सै घण्टा लगातार चलिरहने हाम्रो मुटुको आफ्नै चाल र बेग हुन्छ (६० -१०० प्रति मिनेट), जसलाई सामान्यतया हामीले अनुभव गरिरहेका हुँदैनौं । तर जब यसको चाल र बेगमा कुनै सामान्य अथवा असामान्य कारणले गर्दा परिवर्तन आउँछ तब हामी यसलाई अनुभव गर्दछौं जसलाई सामान्य भाषामा ढुकढुकी बढ्नु अथवा मेडिकल भाषामा पाल्पिटेशन (palpitation)भनेर भन्ने गर्दछौं ।
ढुकढुकी बढनुमा विभिन्न प्रकारका कारणहरू हुने गर्दछन् । कुनै सामान्य कारणहरू हुन सक्छन् भने कुनै रोगहरु पनि यसका कारण बन्न सक्दछन् । तर कारण जे सुकै होस, त्यसलाई भने पत्ता लगाउन अत्यन्तै आवश्यक हुन्छ । जुनसुकै बेलामा पनि मानिसले आफ्नो ढुकढुकी बढेको अनुभव गर्न सक्छ र त्यो ढुकढुकीको कुनै समयको दायरा हुँदैन। स्वस्थ र अस्वस्थ दुवै मानिसहरुमा केही कारणहरू छन् जसले मुटुको ढुकढुकी बढाउने गर्दछन् जुन निम्न प्रकारका छन् ;
स्वस्थ व्यक्तिमा ढुकढुकी बढाउने कारणहरू :
-सामान्यतया व्यायाम गरेपछि मुटुको ढुकढुकी बढेको अनुभव हुने गर्दछ । डर लागेको बेलामा अथवा आत्तिएको बेलामा पनि ढुकढुकी बढ्ने गर्दछ ।
-देब्रे तिर फर्केर सुत्दा अथवा सुतेर उठ्दा र धेरै दुब्लो व्यक्तिमा सामान्यतया ढुकढुकी धेरै बढेको अनुभव हुने गर्दछ ।
-चिया/ कफि आदी क्याफिन् (caffeine) भएका पदार्थ धेरै पिउने तथा सूर्तिजन्य पदार्थको (गुट्खा, सुपारी) सेवन गर्ने व्यक्तिमा पनि ढुकढुकी बढ्ने गर्दछ ।
-मुटुको ढुकढुकी बढ्नुमा मासिकश्राव बन्द (मेनोपौज /menopause) हुनु पनि अर्को प्रमुख कारण हो ।
अस्वस्थ व्यक्तिमा ढुकढुकी बढाउने केही प्रमुख कारणहरू निम्न प्रकारका छन् ;
-मुटु कमजोर हुनु( हार्ट फैलुअर / Heart failure ) अथवा भल्भको समस्या हुनु ।
-केही जन्मजात मुटुरोगहरू भएको व्यक्तिमा ढुकढुकी बढ़ने गर्दछ ।
-मुटुको चालमा केही समस्या भएमा अथवा थाइराइड हार्मोन बढी भएमा मुटुको धड्कन बढेर ढुकढुकीको अनुभव हुने गर्दछ ।
-जुन व्यक्तिको रक्तचाप अनियन्त्रित छ र जुन व्यक्तिमा मुटुको रक्तनलीको रोग छ, उनीहरूमा पनि ढुकढुकी बढ़न सक्छ मुटुको ढुकढुकी बढ़ने समस्या भएर आएका बिरामीहरुमा चिकित्सक द्वारा केही जाचहरू गरिन्छ जस्तै;
१) इ.सि.जी. (ECG)
२) इको (ECHO)
३) होल्टर् (HOLTER) अर्थात २४ घण्टा मुटुको चालको रेकर्ड गर्नु ।
४) थाइराइड हार्मोनको जाँच (TFT)
५) हेमोग्लोबिनको मात्राको जाँच (Hemoglobin level)
डा. ओम मूर्ति अनिलका भिडियो र लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस ।
ढुकढुकी बढ्नु एक आफ्नै प्रकारको समस्या हो जस अन्तर्गत केही रोगहरु पर्दछन्
१) PSVT (Paroxysmal supraventricular tachycardia यसमा बिरामीहरुको मुटुको धड्कन अकस्मात १६० देखी २०० प्रती मिनेट पुग्न सक्छ ।
२) AF (Atrial Fibrillation) : अनियमित मुटुको चाल हुनु ।
३) Ectopics : जसमा बिरामीले मुटुको चाल चल्दा चल्दै रोकिएको अनुभव गर्दछन् |
कुनै रोगबिना बढेको ढुकढुकीलाई खासै केही गर्न पर्दैन तर कुनै रोगको कारणले गर्दा बढेको ढुकढुकीलाई चिकित्सकले त्यही प्रकारको उपचार गर्ने गर्दछन् | बिरामीहरूले लामो समयसम्म औषधी खानु पर्ने पनि हुन सक्दछ ।
केही त्यस्ता बानीहरू पनि अंगाल्न सकिन्छ जसले गर्दा बढ्न सक्ने ढुकढुकीको समस्यालाई बेलैमा रोक्न वा कम गर्न सकिन्छ जुन निम्न प्रकारका छन् ;
- सुर्तीजन्य पदार्थको सेवन नगर्ने। चिया कफी धेरै नपिउने |
- रक्सीको सेवन नगर्ने|
- जति सकिन्छ आफ्नो तनावलाई कम गर्ने र पर्याप्त निन्द्रा पुर्याउने|
- नियमित व्यायाम गर्ने र स्वस्थ खाने कुरा खाने ।
ढुकढुकीको समस्या भएको ब्यक्तिले सम्बन्धित बिषयको चिकित्सकलाई भेटेर आवश्यक जांच गरी सामान्य वा असामान्य कारण यकिन गरी अनावश्यक मानसिक बोझबाट मुक्त हुन सक्दछन् र साचिकै मुटुरोग हो भने समयमै उपचार गरेर निको हुन सकिन्छ ।
- डा. बिनोद खड्का
मेडिकल अफिसर , National Cardiac Centre
Basundhara