Blog

कोरोनरी आर्टरी डिजिज (मुटुमा ब्लकेज) भएको कसरी थाहा पाउने र यसमा के के जाँच गर्नु पर्दछ?

blog-detail-img
|
  April 15, 2022
987
Views

हिडने बेलामा वा अन्य कुनै शारीरिक गतिविधि गर्ने बेलामा छाती दुख्यो (Angina) भने, मुटुमा ब्लोकेज (CAD) भएको शंका हुन्छ । ब्लोकेजको दुखाई (Angina) बिश्राम गरेको २-३ मिनेट भित्रै कम हुन थाल्छ । तपाईले हिड्दा हिड्दै छातीमा तनाब, दबाब वा पोलेको जस्तो महशुस गर्न सक्नुहुन्छ । यस्तो दुखाइ छातीको बिचमा वा बायाँतिर हुन्छ र घाँटीमा वा देब्रेहातमा सर्न सक्छ । छाती दुख्ने बेलामा मुटु ढुकढुक हुने, पसीना आउने, रिंगटा लाग्ने, थकाइ लाग्ने वा असजिलो अनुभव हुनसक्छ । यस्ता लक्षणहरु रक्तनलीको ब्लोकेजको (CAD) कारणले हुन्छ । यस्तो भएमा डाक्टरलाई सम्पर्क गर्नु जरुरी हुन्छ । यो समस्या विस्तारै केही दिन, हप्ता वा महिनामा बढ्दै जान्छ । त्यसैले यसको लागि ओ.पि.डी. मा मुटुरोग विशेषज्ञसँग जचाउनु पर्छ । तर बिश्राम अवस्थामा माथि जस्तै दुखाई (Angina) भएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । यसको लागि इमर्जेन्सीमा जानुपर्ने हुन्छ, हृदयाघात भएको हो कि होइन निश्चय गर्नुपर्छ ।


कोरोनरी आर्टरी डिजिज (CAD) सावित गर्ने सबभन्दा महत्त्वपूर्ण जाँच एन्जिओग्राफी नै हो । तर सबै बिरामीलाई यही जाँच गर्नुपर्छ, भन्ने जरुरी पनि होइन । कोरोनरी एन्जिओग्राफी जाँचको प्रष्ट आवश्यकता भएको अवस्थामा मात्रै गर्नु राम्रो हुन्छ । किनभने यो जाँचको पनि आफ्नै फाइदा र बेफाइदाहरु छन् । कोरोनरी आर्टरी डिजिज (मुटुको रक्तनलीमा ब्लोकेज) को शंका भएमा इ.सि.जी. पहिलो जाँचको रुपमा मानिन्छ । त्यसपछि इकोकार्डियोग्राफीको मद्दतले हृदयाघात भएको हो कि होइन पत्ता लगाउन सकिन्छ । इकोकार्डियोग्राफी जाँचबाट मुटुको कार्यक्षमता (Function) सामान्य छ कि छैन, पत्तालगाउन सकिन्छ ।