Blog

म जे गर्छु, मनैदेखि गर्छु’: डा.ओम मूर्ति अनिल

blog-detail-img
|
  Feb. 2, 2023
1679
Views

काठमाडौं– उनी न त कुनै राजनीतिज्ञ हुन्, न त कुनै सेलिब्रेटी अथवा कलाकार नै । न त उनी कुनै सामाजिक अभियन्ता हुन्, न त लोकप्रिय खेलाडी नै । तर, उनी सामाजिक सञ्जाल (फेसबुक) मा अत्यन्त लोकप्रिय छन् । उनले आफ्नो फेसबुक पेजमा अपलोड गर्ने भिडियोले पाएको लाइक, कमेन्ट तथा शेयर कुनै अन्तर्राष्ट्रिय हस्तिको भन्दा कम छैन ।

उनको फेसबुकमा ६० हजार जति कमेन्ट भएको तीन वटा पोस्ट र १० लाख भन्दा बढी भ्युज भएको २२ वटा भिडियोहरु भेटिन्छन् । उनका अधिकांश भिडियो एक लाखभन्दा बढी पटक हेरिएका पनि छन् ।

फेसबुक पेजमार्फत करोडौं नेपालीको मनमा बस्न सफल ती व्यक्तित्व हुन् वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल, जसलाई आज फेसबुकमा १२ लाख बढीले पछ्याएका छन् । उनका भिडियो र पोस्टबाट प्रेरणा पाएर अधिकांश देश र विदेशमा बस्ने नेपालीले स्वास्थ्यलाभ लिएका छन् ।

कसैले चुरोट/मदिरा छाडेका छन् त कसैले तौल घटाएका छन् । कसैले दैनिक हिँड्न थालेका छन् त धेरैले आफ्नो खानपिनमा परिवर्तन गरेका छन् । यी सबै कुरा डा.ओमका फलोअरहरुको कमेन्ट पढ्दा थाहा पाउन सकिन्छ ।

हँसिलो मुहार अनि सरल स्वभावका यी चिकित्सक फेसबुकमा यति धेरै लोकप्रिय छन्, उनले अपलोड गरेको स्वास्थ्य सम्बन्धि जानकारीसहितको एक भिडियो ३८ हजार भन्दा बढी पटक शेयर भएको छ ।

फेसबुकमा कुनै पनि स्वास्थ्य सम्बन्धि जानकारी समेटिएको भिडियो यो संख्यामा शेयर भएको कलाकर्मी प्रतिनिधिले अहिलेसम्म फेला पारेको छैन । उक्त भिडियोले १ लाख ११ हजार लाइक पाएको छ भने झण्डै ३२ लाख पटक हेरिएको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत एउटा चिकित्सकले सामाजिक सञ्जालमा यति धेरै रेस्पेक्ट कसरी कमाउन सक्छ ?

विराट कोहली, जो विश्वमै सर्वाधिक फेसकुब फलोअर्स भएका उत्कृष्ट ७० भित्रै पर्छन्, उनको वर्षभरीका पोस्टहरु मध्ये ५–६ पोस्टले मात्र ५० हजार बढी कमेन्ट पाएका हुन्छन् । ती पनि निकै ठूलो उपलब्धिको अवसरमा ।

सामान्यतया जुन व्यक्तिको अन्य मानिसहरुसंग गहिरो एट्याच्मेन्ट हुन्छ, ती व्यक्तिले मात्र उसको पोस्टमा कमेन्ट गर्छ ।

डा.अनिलको छोरा जन्मिएको पोस्टमा ६२ हजार कमेन्ट र एक लाख ५५ हजार लाइक रहेको छ । छोरीको बर्थडे मा ५८ हजार कमेन्ट र १ लाख ६० हजार लाइक देखिन्छन् ।

केही महिनाअघि डा.अनिलले आफ्नो बुवालाई गुमाए । उनले सामाजिक सञ्जालमार्फत बुवालाई श्रद्धाञ्जली दिएको भिडियामा ६२ हजारले त समवेदना नै प्रकट गरे । अर्थात, डा.अनिललाई फेसबुकमा पछ्याउनेहरुले उनको सुख तथा रमाइलो क्षणमा मात्र होइन, दुःखमा पनि उत्तिकै साथ दिएका छन् ।

डा.अनिलका भिडियोले पाएका यति धेरै कमेन्टहरु कुनै विश्व प्रसिद्ध सेलिब्रेटी, खेलाडी अथवा कलाकारका पोस्टमा मात्र यदाकदा देख्न सकिन्छ । उनीहरुका पोस्टमा हजारौं कमेन्ट आउने मुख्य कारण भनेको उनीहरुलाई विश्वभरीका मानिसहरुले पछ्याएका हुन्छन् र उनीहरुका मल्टि मिलियन फलोअर्स हुन्छन् ।

तर, डा.ओमलाई १२ लाखले मात्र फलो गरेका छन्, जुन अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त हस्तिहरुको अगाडि सामान्य फलोअर्स हो । तर यो संख्यामा फलोअर्स भए पनि उनले पोस्ट गर्ने कन्टेन्टमा मानिसहरुले गर्ने कमेन्ट, लाइक तथा शेयर भने अविश्वसनिय पाएको छ ।

एउटा विसुद्ध स्वास्थ्यकर्मीको स्वास्थ्य सचेतनाको उदेश्यले बनाइएका भिडियोहरु लाखौं–लाख दर्शकहरुले मन पराइरहेका छन् ।

कहिले खानाका बारेमा त कहिले खाना खाएपछि के गर्ने भन्ने बारेमा जानकारी दिइरहेका हुन्छन् । गुड–फुड ह्याबिटदेखि आध्यात्म, दाइजो प्रथा हुँदा माया–प्रेम र राजनीतिका बारेमा समेत डा.अनिलले भिडियो बनाइरहेका हुन्छन् ।

सामान्यतया हाम्रो समाजमा एउटा डाक्टरप्रतिको धारणा बिरामीलाई ठिक पार्ने व्यक्तिको रुपमा स्थापित छ । त्यसबाहेक डाक्टरको सामान्य मानिसहरुसंग खासै चिनजानसमेत हुँदैन । एउटा डाक्टर मानिसहरुबीच खासै लोकप्रिय पनि हुँदैन ।

सामान्यतया फेसबुकमा राखिने मेडिकल कन्टेन्टमा मानिसहरुको खासै रुची हुँदैन । मान्छेहरुलाई रमाइलो कुरा हेर्न मनपर्छ, मनोरञ्जनको कुरा हेर्न मन लाग्छ । भाइरल भैरहेका कुरा हेर्न मनपर्छ, विवादका विषयका भिडियोहरु हेर्न मनपर्छ ।

मेडिकल कन्टेन्टलाई यति धेरै रुचाइएको, विश्वव्यापी रुपमा हेर्ने हो भने पनि यो निकै दुर्लभ कुरा हो ।

जब कि डा.अनिलले फेसबुकमा अपलोड गर्ने ती भिडियोहरु एउटा मोबाइलको सामान्य क्यामराले खिचिएका हुन् । भिडियो खिचाइमा कुनै व्यवसायिकता छैन, न कुनै त्यस्तो सम्पादन छ, न कुनै त्यस्तो ग्राफिक्स अथवा भिएफएक्स गरिएको छ, न त कुनै कुरा इन्सर्ट नै गरिएको छ ।

डा.अनिलले पाएको यो स्तरको लोकप्रियता जो–कोहिले पाउन असम्भव छ । यसले के बुझिन्छ भने, उनका कन्टेन्टहरुले नेपालमा मानिसलाई कुन हदसम्म प्रभावित गरेको छ भने डा.ओमको भिडियो आउने बित्तिकै मान्छेले शेयर गर्छन्, लाइक गर्छन्, कमेन्ट गर्छन्, हेर्छन् ।

यो कसरी सम्भव भयो त ? कलाकर्मी प्रतिनिधिले डा.ओम मूर्ति अनिलसंग यो विषयमा हालै संक्षिप्त कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंशः

डा.साब, फेसबुकको यो लोकप्रियता कसरी सम्भव भयो त ?

डा.ओम– यो कुरा फेसबुक नम्बरको फलोअर्सको संख्या होइन । मलाई लाग्छ, मैले गरेका पोस्टहरुमा यति धेरै जना मानिसहरु जोडिने कारण भनेको मानिसहरुको मप्रतिको विश्वास हो ।

मानिसमा डा.ओमप्रति यति धेरै श्रद्धा, सम्मान अथवा रेक्पेक्ट कसरी आयो त ?

डा.ओम– मैले फेसबुकमा एग्रेसिभली कन्टेन्टहरु अपलोड गर्न थालेको ६ वर्ष भयो । हरेक दिन, नछुटाइ केही न केही दिइरहेको छु । मानिसहरुलाई उनीहरुको व्यवहारिक जीवनमा काम लाग्ने सामग्रीहरुका लागि मैले प्रसस्त मेहनत गरेको छु, मनैदेखि बनाएको छ अनि पैसा पनि खर्च गरेको छु । यति मेहनत गरेको छु कि यो अवधिमा मैले यति नै मेहनत र खर्च गरेर अरु कुनै काम गरेको भए त्यसले यो भन्दा पनि ठूलो सफलता प्रदान गर्ने थियो होला, आर्थिक र करियरको दृष्टिकोणले पनि । यद्यपि, मलाई मानिसहरुलाई जनचेतना जगाउने कार्यमै दत्तचित्त भएर लाग्न मन पर्यो ।

प्रारम्भमा त यहाँलाई आलोचना पनि गरे नि, हैन ?

डा.ओम– सुरु–सुरुमा कतिपय मानिसहरुलाई के लाग्यो भने म एकदमै फ्रि छु, त्यसैले फेसबुकमा आइरहेको छु । पछि गएर मेरा आलोचकहरु पनि समर्थक बन्न पुगे । पछिल्लो समयमा मैले आलोचनात्मक कमेन्टहरु निकै कम पाएको छु ।

मानिसहरुले तपाईंको उदेश्य कसरी बुझेको पाउनु भयो ?

डा.ओम– मैले यो अभियान थालेको झण्डै साढे चार वर्षपछि मात्र मानिसहरुले मेरो उदेश्य बुझे । मैले गरेको त्यो इफोर्ट त एउटा सर्वसाधारण मानिसका लागि हो नि, यसमा न त कुनै स्वार्थ छ न त कुनै व्यापारिक प्रयोजन । तर पनि यो डाक्टर किन यसरी सामाजिक सञ्जालमा हाम्रै स्वास्थ्यका लागि यति खटिएर लागेको छ भन्ने कुरा बल्ल मानिसहरुले बुझे ।

किन हरेक दिनजसो हामीलाई केही न केही खुराक दिइरहेको छ, किन हाम्रो स्वास्थ्यप्रति यो डाक्टरलाई यति धेरै चासो छ भन्ने कुरा मानिसहरुलाई बुझ्न लामै समय लाग्यो । सुरु–सुरुमा केही मानिसहरुलाई शंका पनि भएको थियो होला, कतै यो डाक्टरले आफ्नो क्लिनिकमा बिरामीहरुलाई बोलाउनका लागि यो सबै गरिरहेको छ कि भनेर ।

तर मानिसहरुले मलाई वर्षौंसम्म स्टडि गरे । मैले आफ्ना कन्टेन्टमार्फत न त कहिले बिरामीहरुलाई आफू कहाँ जचाउँन बोलाएँ, न त कहिले विज्ञापन नै गरें । मैले बिरामीलाई स्वार्थ बाझिने गरी कहिले कुनै कन्टेन्ट बनाइन । मानिसहरुले अन्ततः के बुझे भने डा.ओमले त हाम्रै स्वास्थ्यका लागि यो गरिरहेको रहेछ । वास्तवमा मानिसहरुलाई यही कुरामा विश्वास भएरै आज सबैको रेस्पेक्ट हासिल गर्न सफल भएको हो जस्तो लाग्छ ।

प्रारम्भिक चरणमा कस्ता प्रकारका आलोचनाहरु सुन्न भयो ?

सुरु-सुरुमा मान्छेहरुलाई लागेको हुनसक्छ लोकप्रिय हुन खोजिरहेको छ । तर पछिल्लो डेढ वर्षदेखि ममाथि कसैले पनि यस प्रकारको सोच बनाउनु भएको छैन । मानिसहरुले आलोचना गर्न बन्द गरिसकेका छन् ।

प्रारम्भिक दिनमा त्यसरी आलोचना भएको सुन्दा यहाँलाई कस्तो लाग्थ्यो ?

डा.ओम– नढाँटि भन्नु पर्दा असाध्यै चित्त दुख्थ्यो । दिमागमा त्यही कुरा हावी भैरहन्थ्यो । मैले त मानिसको राम्रो स्वास्थ्यका लागि कुरा गरिरहेको थिएँ, चिल्लो–पिरो नखाउ भन्दा मलाई किन गाली गर्नु पर्ने ? कोरोनाबाट बच्नका लागि मास्क लगाउनु पर्छ भन्दा किन गाली गर्नु पर्ने ? ती आलोचना र गालीमा मैले कुनै कारण देखेको थिइन । मैले गलत नगर्दा पनि मान्छेले किन गाली गर्छन् भन्ने कुराले निकै दुःखी समेत हुन्थें ।

तपाईंको बिरामीको प्रतिक्रिया के पाउनु भएको छ ?

डा.ओम– मकहाँ स्वास्थ्य परिक्षण गर्न आउने अधिकांश बिरामीले छुट्टिने बेलामा ‘फेसबुकमा भिडियो बनाएर पोस्ट गर्ने काम चाहिँ नछाड्नु होला है प्लिज’ भन्छन् ।

तपाईंका भिडियोले समाजमा कस्तो योगदान दिइरहेको मान्नु हुन्छ ?

मेरा बिरामीहरुले मेरै भिडियोका कारण ज्यान जोगिएको प्रतिक्रियाहरु दिइरहनु भएको छ । मानिसहरुले जीवनशैलीमा सुधार आइरहेको छ । मानिसले डाइट प्लानका बारेमा सिकिरहेका छन् । कस्तो कुरा खाने, कस्तो खानेकुरा नखाने, ब्यायाम गर्ने उपयुक्त समय के हो आदि विषयका बारेमा मेरा भिडियोमार्फत जानकारी पाएर आफ्नो जीवनशैलीमा ती कुराहरु लागू गरिरहेका छन् । एउटा चिकित्सकलाई यो भन्दा
ठूलो खुशीको कुरा अरु के हुन सक्छ ?

विगतमा कस्तो व्यक्तिले आलोचना गरेको पाउनु भयो ?

डा.ओम– फेक एकाउन्टबाट मलाई मन नपराउनेहरुले विषयवस्तुभन्दा बाहिरका कुरा गरेर आलोचना गर्ने गरेको पाएँ । कसैको जिज्ञासाहरु दुई–तीन पटकसम्म रिप्लाइ भएर भने आलोचना गर्ने रहेछन् । वास्तवमा मेरा भिडियोमा आएका हरेक कमेन्टको एक–एक गरेर जवाफ दिन गाह्रो छ । त्यही पनि मैले सकेसम्म धेरैलाई जवाफ फर्काउने गरेको छु । हामी मेसेन्जर तथा ह्वाट्सएपमार्फत सोधिएका स्वास्थ्य सम्बन्धि जिज्ञासाको हरेक दिन झण्डै दुई सय भन्दा बढीलाई जवाफ दिइरहेका हुन्छौं । बिदेशबाट धेरै जिज्ञासा आइरहेको हुन्छ । यद्यपि, सबैलाई जवाफ दिनका लागि मेरो पनि आफ्नै लिमिटेसन छ । बिरामीहरुलाई हेर्नै पर्छ, घर–परिवारलाई पनि समय दिनै पर्छ । फेसबुकको कन्टेन्टलाई पनि केही समय दिनु पर्छ । यी सबैबाट फुर्सद भयो भने मात्र कमेन्टमा सोधिएको जिज्ञासाको जवाफ दिन भ्याइन्छ।

आम दर्शकले तपाईंबाट कस्ता कन्टेन्ट चाहेको पाउनु भएको छ ?

डा.ओम- अधिकांशले मलाई खानेकुरा, व्यायाम, बिपी च जीवनशैलीको बारेमा भिडियो बनाउन आग्रह गर्नु हुन्छ ।

भिडियो कन्टेन्ट बनाउँदा कुन कुरामा ध्यान दिनु हुन्छ ?

डा.ओमः बिरामीहरुसंग बस्दा, उनीहरुको कुरा सुन्दा, उनीहरु कुन कुराले कन्फ्यूजनमा छन्, म तीनै कुराहरु भिडियोमार्फत सबैलाई हुने गरी तयार पार्छु । अध्ययनको क्रममा फेला पर्ने विषयहरु पनि मेरो रोजाइमा पर्छन् । मानिसलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुमा पनि म भिडियोको विषयवस्तु देख्छु । पोस्टमा आउने कमेन्टबाट पनि थाहा हुन्छ, ती भिडियोहरु हरेक व्यक्तिका लागि कतिसम्म उपयोगी छन् भन्ने कुरा ।

छ वर्षअघि फेसबुकमार्फत जनचेतना फैलाउने भिडियो बनाउने कार्यले आज यो लोकप्रियता दिनेछ भन्ने सोच्नु भएको थियो ?

डा.ओम– मलाई त्यस्तो कहिले लागेको थिएन । मैले जनचेतनालाई कुन हदसम्म फैलाउन सकिन्छ भन्ने मात्र सोचेको थिएँ । एउटा विशेषज्ञले आममानिसलाई कतिसम्म सूसुचित गर्न सक्छ भन्ने कुरामा मात्र ध्यान दिएको थिएँ । मैले चिकित्सकको रुपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पर्छ, सामाजिक रुपमा मैले पनि केही न केही योगदान दिनु पर्छ भन्ने लागेको थियो । सचेतना फैलाउँदै जाँदा यो क्रम बढ्दै गयो, फेसुबकका प्रयोगकर्ताहरुले साथ दिँदै जानु भयो । आजको दिनमा मैले उहाँहरुको यति धेरै साथ पाएको छु कि ममाथि हरेक दिन थप जिम्मेवारी बढेको अनूभुति हुन्छ ।

तपाईंका समकालिन चिकित्सकहरुको तपाईंको यो अभियानप्रति कस्तो धारणा पाउनु भएको छ ?

पेशागत रुपमा चिकित्सकलाई चिकित्सकसंग धेरै नै ईश्र्या भएको देख्छु । त्यसैले म आफ्ना समकालिन चिकित्सकहरुको सम्पर्कमा धेरै बस्दिन । मैले गरेको कामप्रति म विश्वस्त छु, तर मेरो बारेमा उहाँहरुको बुझाइ नै फरक छ ।

अब अगाडिको योजना के छ ?

डा.ओम– अबको केही वर्ष भित्रमा समाजकै लागि केही विशेष काम गर्ने योजना बनाएको छु । त्यो अहिले प्लानिङकै लेभलमा छ । अलि वृहत रुपमा केही गर्ने योजना छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

डा.ओम– हरेक मानिसलाई जीवनमा अरुबाट श्रद्धा, सम्मान, रेस्पेक्ट पाउने तथा मनप्रिय हुने चाहना हुन्छ । त्यसका लागि हरेक व्यक्ति ओरिजिनल हुनुपर्छ, मान्छे मोडिफाइड हुनु हुन्न । कुनै पनि काम मनैदेखि गर्नु भयो भने त्यसले तपाईंलाई कहिं न कहिं पहिचान दिन्छ । तुरुन्त परिणाम नआए पनि ढिलो–चाँडो परिणाम प्राप्त हुन्छ ।

धन, सम्पत्ति, पद, मान, पदवीभन्दा पनि तपाईंलाई समाजले कुन नजरले हेर्छ भन्ने कुरा बढि महत्वपूर्ण हुन्छ । म आफैं पनि आफ्नो कन्टेन्टमा कहिले पनि अरुको नक्कल अर्थात कपि गर्दिन, जे छ मेरो आफ्नौ मौलिक प्रस्तुति हुन्छ ।

लोकप्रिय हुनका लागि सर्टकर्ट बाटो अपनाउनु हुँदैन । यदि मैले त्यस्तो बाटो अपनाएको भए आज यो ठाउँमा आइपुग्न सक्दिन थिएँ । त्यसैले म के भन्छु भने जीवनमा जे गर्नु हुन्छ, आफ्नो सिद्धान्तमा रहेर गर्नुस् ।

https://www.kalakarmi.com/interview/96200/