Blog

भर्चुअल दुनियाँका मुटु डाक्टर

blog-detail-img

भर्चुअल दुनियाँका मुटु डाक्टर

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Sept. 29, 2022
233
Views

फेसबुकमा पोस्ट हुने डा. अनिलका सामग्रीले समस्याको पहिचान र उपचार विधि मात्र बुझाउँदैन मर्निङ वाक, साइक्लिङ, व्यायाम र योगमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरितसमेत गर्छ 

काठमाडौँ — आफूले चाहेको सामान अर्डर गर्न स्मार्ट फोन सहज माध्यम बनिसकेको छ । ई–कमर्सको उभारबीच हातहातमा पुगेको फोनले सामान्य मानिसको दैनिकीमा ठूलो परिवर्तन आएको छ । इन्टरनेटको पहुँच भएकाहरूका लागि त स्मार्ट फोनमै कक्षाकोठादेखि स्वास्थ्य क्लिनिकसमेत उपलब्ध छन् । केही वर्षदेखि डा. ओममूर्ति अनिलले त्यही स्मार्ट फोनलाई स्वास्थ्य जनचेतना फैलाउने गतिलो साधन बनाएका छन् । 

भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) बाट ‘इन्टरभेन्सन कार्डियोलजी’ मा ‘डीएम’ गरेका डा. अनिलले सामाजिक सञ्जालमार्फत दिने ‘हेल्थ टिप्स’ धेरैका लागि सञ्जीवनी नै बनेको छ । त्यही भएर हजारौं नेपालीमाझ उनी परिचित छन् । उनको लोकप्रियताको ‘ब्यारोमिटर’ थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जाल केलाउँदा पनि प्रस्ट हुन्छ ।

गुगलमा खोज्दा डा. अनिलका स्वास्थ्य जनचेतना जगाउने करिब २० हजार भिडिओ पाइन्छन् । त्यसबाहेक स्वास्थ्यसम्बन्धी लेख, रचना, प्रस्तुति फेसबुकलगायत विभिन्न माध्यममार्फत सार्वजनिक गर्दै आएका छन् । उनका सामग्रीले समस्याको पहिचान र उपचार विधि मात्र बुझाउँदैन मर्निङ वाक, साइक्लिङ, व्यायाम र योगमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरितसमेत गर्छ ।

फेसबुकमा उनका फलोअर नै ११ लाख ७८ हजारभन्दा बढी छन् । मुलुकबाहिर बस्ने नेपालीसमेतलाई उनले फेसबुक लाइभमार्फत स्वास्थ्य सल्लाह दिने गरेका छन् । नेपालजस्तो निम्न आय भएको मुलुकमा झन्डै ७५ प्रतिशत मृत्यु मुटु र रक्तनलीसँग सम्बन्धित (कार्डियोभास्कुलर) रोगले हुने गरेको तथ्य उनी बारम्बार दोहोर्‍याइरहन्छन् । ‘हामी जस्तै मुलुकमा ८६ प्रतिशतजतिको मृत्यु अकालमै नसर्ने रोगका कारण भइरहेको छ,’ उनी भन्छन् ।

यो डरलाग्दो तथ्यांकले नै उनलाई मुटु स्वस्थ राख्नका लागि जनचेतना फैलाउन प्रेरित गरेको हो । यसमा उनलाई सामाजिक सञ्जाल सहयोगी माध्यम बनेको छ । ‘एक जनाको ज्यान जोगाउन पाए वा चिकित्सकीय रूपले आवश्यक सल्लाह दिन पाए मलाई असिम आनन्द आउँछ,’ डा. अनिलले भने, ‘गुणस्तरीय सहज उपचारको पहुँच हरेक व्यक्तिलाई हुनैपर्छ ।’ सामान्य जीवनशैली परिवर्तनले रोगै लाग्न नदिने, रोगलाई पर धकेल्ने, रोग लागे पनि औषधि र चिकित्सकीय सहयोगले स्वस्थकर जीवन बिताउन सकिने उनी बताउँछन् ।

काठमाडौं सहरका स्वस्थ मानिएका ५ हजार ५ सय ३० जनाको रक्त परीक्षण गर्दा ७५ प्रतिशतमा रक्तचापको समस्या पाइएको उनको अध्ययनले देखाएको थियो । नियमित व्यायाम नगर्ने, स्वस्थकर खानामा ध्यान नदिने, स्वास्थ्य परीक्षणमा चासो नदेखाउनेहरूमा मुटुरोगको अत्यधिक जोखिम देखिने उनले बताए । काठमाडौंका ४० वर्षभन्दा कम उमेर समूहका बहुसंख्यामा उच्च रक्तचाप रहेको पनि उनको अध्ययनले देखाएको थियो ।

‘यो अध्ययनले सहरियाहरूमा पनि स्वास्थ्य चेतना अभिवृद्धि गराउनुपर्ने आवश्यकता औंल्याएको छ,’ उनले भने, ‘मुटु र रक्तनलीसम्बन्धी समस्यालाई समयमै पहिचान गरेर सावधानी वा उपचार प्रक्रियामा नगए जुनसुकै बेला ज्यान गुमाउने जोखिम छ ।’ दैनिक एक घण्टा शारीरिक व्यायाम गर्नेर्, सन्तुलित भोजन गर्ने, चुरोट–मदिरा सेवन नगर्नेलाई उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलजस्ता मुटुरोगका कारक समस्या देखिने सम्भावना न्यून रहने उनको दाबी छ ।

उनी आधुनिक चिकित्सा विधिको टिप्स मात्र दिँदैनन् । यससँगै ‘इन्टिग्रेटेड एप्रोच’ मा जान सकिने बताउँछन् । त्यही भएर पनि उनी मुटुरोगको उपचार गराउन आउनेलाई नियमित शारीरिक व्यायामदेखि योग गर्ने सल्लाहसमेत दिइराखेका हुन्छन् । सामाजिक सञ्जालमा हेल्थ टिप्स प्रसारण गर्नुअघि उनी अन्तर्राष्ट्रिय मेडिकल जर्नलको आधुनिक अनुसन्धानको अध्ययनमा घण्टौं बिताउँछन् ।

पछिल्लो समय चिकित्सा क्षेत्रमा कामको चाप र अन्य कारण स्वअध्ययन र सिकाइमा देखिएको कमीप्रति उनको चिन्ता छ । ‘चिकित्सकले हरेक दिन अत्याधुनिक ज्ञान र विश्वमा भएका पछिल्ला खोज, अध्ययन अनुसन्धानसँग अद्यावधिक हुनैपर्छ, अन्यथा बिरामीले सही र उपयुक्त उपचार पाउन गाह्रो हुन्छ,’ स्वास्थ्य चेतनासम्बन्धी ‘म पनि डाक्टर’ पुस्तक प्रकाशन गरिसकेका उनले भने, ‘चिकित्सा पेसा निरन्तर शिक्षित हुँदै जाने क्षेत्र हो ।’

‘स्वास्थ्य सचेतनाको अधिकतम अभ्यास भएकै छैन’

लेख, रचनासँगै घण्टौं सामाजिक सञ्जालमा सक्रिय रहन केले प्रेरित गरिरहेको छ ?

परिवारका मुख्य व्यक्तिको आँखैअगाडि मृत्यु भएको देख्दा कार्डियोलजिस्टको पनि मुटु दुख्छ । त्यस्ता घटनाले नै नागरिकलाई अकाल मृत्युबाट जोगाउन स्वास्थ्य सचेतना सबैभन्दा ठूलो उपाय हो भन्ने लागेर सक्रिय हुन थालेको हुँ ।

सामाजिक सञ्जालबाट एक व्यक्तिले परिवर्तन ल्याउन सम्भव छ र ?

आजको दिनमा सामाजिक सञ्जाल धेरै प्रभावकारी छ । यसको प्रभाव अदृश्य भए पनि आम व्यक्ति र समाजमा धेरै ठूलो र गहिरो असर पर्छ । त्यही भएर पनि स्वास्थ्य जनचेतना फैलाउने अभियानमा अनवरत लागिरहेको छु । जनचेतना बढाउन माध्यमभन्दा पनि दर्शक, पाठक वा सुन्ने व्यक्ति भए पुग्छ ।

नेपालमा स्वास्थ्य सचेतनाको अधिकतम अभ्यास भएकै छैन । कुनै एउटा व्यक्तिको भिडियो हेरेर, लेख, विचार पढेर खानामा नुन, चिल्लोको कम प्रयोग, मदिराको मात्रामा कमी, तौल घटाउने प्रेरणा, दैनिक हिँडाइ, तनाव–उदासी–रिस व्यवस्थापन, समयसमयमा स्वास्थ्य परीक्षण, मुटुरोगको अवस्था पहिचान गर्न सक्ने जागरण आयो भयो भने यसले एक व्यक्तिलाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ ।

तपाईंले राखेका भिडियो, लेख–रचना बढी रुचाइनुको कारण ?

मुख्य कुरा त निःस्वार्थ रूपमा स्वास्थ्य जनचेतना अभियानप्रतिको समर्पण । मेरा लेख, रचना वा भिडिओमा सूचनाभन्दा पनि अवधारणा र प्रेरणा बढी हुने गरेकाले बढी रुचाइएको होला ।

तपाईंले दिएका हेल्थ टिप्सलाई श्रोता, दर्शक वा पाठकले आफ्नो जीवन व्यवहारमा कत्तिको उतार्छन् ?

हजारौंले त्यस्ता सामग्री रुचाएर प्रतिक्रिया दिएको देख्दा उहाँहरूले व्यवहारमा उतार्नुहुन्छ भन्ने मेरो विश्वास हो । मेरा भिडियो, लेख/रचना रुचाउनेमध्ये एक प्रतिशतले मात्र धूमपान छोडे, मद्यपान कम गरे, तौल घटाए, नुन–चिल्लो खान कम गरे, शारीरिक सक्रियता बढाए भने पनि परिवार र समाजमा खुसियाली छाउँछ । त्यसले व्यक्ति, समाज र देशको अर्बौं रुपैयाँको बचतसमेत हुन्छ ।

सकारात्मक जीवनशैलीका सामान्य उपाय अवलम्बन गर्दा रक्तचाप, चिनी, कोलेस्ट्रोललगायत स्वास्थ्य समस्या नियन्त्रण राख्न सकिन्छ । रोग लागेन भने डाक्टरकहाँ जानु परेन, औषधि खानु परेन । स्वस्थ र निरोगी मानिसले नै सक्रिय रूपमा काम गर्न सक्छ । यसले आर्थिक, सामाजिकलगायत क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । स्वस्थ रहन स्वास्थ्य सचेतनाको भूमिका महत्त्वपूर्ण हुनुका साथै पैसाको अभाव भए पनि मुटुरोगको समस्या घटाउन सकिने मेरो मान्यता छ ।

निःशुल्क क्याम्प राखेर व्यापक रूपमा बिरामी जाँचेर पनि सेवा दिन सकिन्छ नि ?

चिकित्सकका रूपमा म थोरै व्यक्तिको उपचार गर्न सक्छु । दिनमा १२ घण्टाभन्दा बढी बिरामी उपचारमा खर्चे पनि एउटा सीमा हुन्छ । तर स्वास्थ्य सचेतनाको माध्यमले देशभर जान सकिन्छ । त्यसमा म केही हदसम्म सफल पनि भएको छु । स्वास्थ्य सचेतना अभियानका लागि मैले समय मात्र दिएको छैन, चिकित्सा पेसाबाट भएको आम्दानी पनि खर्चेको छु ।

आश्विन १३, २०७९ अतुल मिश्र 

https://ekantipur.com/news/2022/09/29/16644166750806814.html